Tuesday, September 30, 2014

Siddhartha Development Bank Ltd (SDBL) - Fundamental Analysis of FY 2070/71

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. ६४ करोड ५० लाख, जगेडा रु. २ करोड ९९ लाख ९७ हजार, निक्षेप रु. ६ अरब २५ करोड ८६ लाख ३१ हजार, कर्जा लगानी रु. ४ अरब ७७ करोड ५५ लाख १० हजार र अन्य लगानी २ अरब ४३ करोड ४८ लाख ८ हजार रहेको छ |

नाफा नोक्सान
६० करोड ९१ लाख ५६ हजार व्याज आम्दानी गरि ४० करोड ६० लाख १० हजार व्याज खर्च पश्चात २० करोड ३१ लाख ४६ हजार खुद व्याज आम्दानी गरेको छ | शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानी ५ करोड ५१ लाख २ हजार समेत गरि रु. २५ करोड ८२ लाख ४८ हजार कुल संचालन आम्दानी छ | कर्मचारी र कार्यालय संचालन खर्च पश्चात रु. १० करोड ९४ लाख ९३ हजार कुल आम्दानी गरेको छ |
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १३ करोड १८ लाख २८ हजार व्यवस्था गरेको छ | खराब कर्जा बापत व्यवस्था, कर्मचारी बोनस, गैर-संचालन आम्दानी (घाटा), असामान्य गतिविधिबाट भएको आम्दानी (घाटा), कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ५ करोड ६० लाख ५५ हजार खुद नाफा गरेको छ |
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति ११.८३%, खराब कर्जा ७.८%, कर्जा निक्षेप अनुपात ७३.४५%, लागतमा प्रतिफल ८.३%, प्रति शेयर आम्दानी वार्षिक रु. ८.६९, मूल्य आम्दानी अनुपात १७ (आश्विन २ गतेको मुल्यमा) र प्रति शेयर खुद सम्पति रु १०४.६५, आधार दर १०.२७% र औसत व्याज अन्तर ६.१२% रहेको छ |
विश्लेषण
बैंकको निक्षेप र कर्जा क्रमशः २९ र ३३ प्रतिशतले बढेको छ भने र अन्य लगानी करिब स्थिर छ | व्याज आम्दानी २.११% बढेको छ भने व्याज खर्च ४.९६% ले घटेको छ | बैंकले निक्षेप बढाउनको लागि निकै महंगोमा निक्षेप लिएको कारण व्याज आम्दानीको ६६% अर्थात दुई तिहाई रकम व्याज खर्च भएको छ | ब्याज आम्दानीको झन्डै दोब्बर ब्याज खर्च घटेकोले खुद ब्याज आम्दानी १९.२६% ले बढेको छ | नियमित संचालन आम्दानीमा व्याज बाहेक शुल्क, कमिसन, डिस्काउन्ट, बिदेशी मुद्रा सटही तथा अन्य संचालन आम्दानीको हिस्सा करिब २१% रहेको छ | यो आम्दानी करिब १३% बढेको छ / अगिल्लो वर्ष घाटा रहेकोमा यस वर्ष सो घाटा पूर्ति गरि रु. ५ करोड ६० लाख ५५ हजार खुद नाफा गरेको छ | व्याज आम्दानीमा भएको वृद्धि, शुल्क, कमिसन र डिस्काउन्ट बढ्नु र खराब कर्जा व्यबस्थाबाट करिब १० करोड फिर्ता, गैर-संचालन आम्दानी बढेको कारण अगिल्लो वर्षको घाटा पूर्ति भइ खुद नाफा देखिएको छ | बैंकको लगानी गर्ने आधार दर बढी नै रहेको छ भने औसत व्याज दर अन्तर पनि बाणिज्य बैंकलाई तोकिएको भन्दा बढी देखिएकोले यसलाई घटाउनु पर्ने देखिन्छ | बैंक व्यवस्थापन पक्ष अलि सवाल नरहेको देख्न सकिन्छ | कुल आम्दानीको ५८% रकम कर्मचारी र कार्यालय संचालनमा खर्च गरेको छ |
जोखिम भारित सम्पति तोकिएको सीमामा रहेको छ | कर्जा निक्षेप अनुपात तोकिएको सिमा माथि रहेकोले लगानीयोग्य रकम निस्क्रिय भएको र व्याज खर्च बढाएको छ | अगिल्लो वर्ष ६.४९% रहेको खराब कर्जा २०.१८% बढेर ७.८% मा पुगेको छ | खराब कर्जा बढेकोले १३ करोड भन्दा बढी रकम खराब कर्जाको लागि व्यवस्था गर्नुपरेकोले खुद आम्दानी घटेको छ | अगिल्लो वर्ष २ करोड भन्दा बढीले ऋणात्मक रहेको जगेडा कोष करिब ३ करोडले धनात्मक भएको छ |
बैंकको आर्थिक स्थिति सकारात्कम तर्फ उन्मुख मात्र रहेकोले बैंकबाट लाभांशको आशा गर्न सकिने स्थिति छैन | यति बेला बैंकको खराब कर्जा उठाई बैंकलाई सुधार गर्ने प्रमुख दायित्व रहेको छ | खराब कर्जा घट्नुको सट्टा बढेकोले त्यो खराब कर्जा उठाएर सुधार प्रक्रियामा रहुन्जेल शेयरधनीले लाभांश पाउने कल्पना नगरे हुन्छ | - Mr Jyoti Dahal

No comments:

Post a Comment